धनगढीः कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेको प्रकरणमा नयाँ तथ्य फेला परेको छ। सो प्रकरणमा कैलालीस्थित धनगढीको त्रिनगर भन्सारका हाकिमका भान्सेको नाम खुलेको छ।
एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसपछि सो प्रकरणमा कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमील्सेनाका भान्से जोडिएका हुन्।
त्यसमा उनीसहित दुई जनालाई पक्राउ गरिएको छ। भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्यायलाई समातिएको हो।
प्रहरीका अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निवेदन परेको थियो। त्यसपछि दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुमाथि किर्ते तथा अपराधिक लाभमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
रोहितले सुदूरपश्चिम प्रदेश ०२००४ प ४१४८ नम्बरको मोटरसाइकल चलाउँदै आएका थिए। सोही नम्बरको मोटरसाइकल उनले लिलामी मार्फत खरिद गरेर बिक्री गरेको पाइएको छ।
त्यसपछि कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सेनाका भान्सेलाई पक्राउ गरिएको हो।
अर्काको मोटरसाइकल नम्बर प्रयोग गरि मोटरसाइकल चलाएको पाइएपछि मेहता समातिएको बताइन्छ।
र, यो पनि: धनगढीमा भेटिए दुरुस्तै २ मोटरसाइकल