काठमाडौँ – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ र चिनीमा लगाएको प्रतिबन्ध हटाउन केन्द्र सरकारसँग कुराकानी भइरहेको बताएका छन्।
शनिवार धरानमा आयोजित उद्योग वाणिज्य संघ सुनसरीको स्वागत सम्मान कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन्। उनले धरानमा भारतसँगको व्यापार धेरै रहेको उल्लेख गरे।
उनले नेपालले भारतसँगको व्यापारलाई अझ बढाउनुपर्छ भन्ने भारतको चाहना रहेको बताए। उनले नेपालको आर्थिक सम्बन्ध प्रगाढ र सुदृढ होस् भन्ने भारत सरकारले चाहेको बताए।
राजदूत श्रीवास्तवले धरानमा भारतबाट सामान ल्याउनका लागि मिरगञ्जको पुल नबन्दा समस्या भइरहेको भन्दै पुल वर्षाका कारण केही समय रोकिएको तर चाँडै निर्माण हुने प्रतिबद्धता जनाए। उनले पुल निर्माणका लागि बिहार प्रदेश र केन्द्र सरकारसँग कुराकानी गरिसकेको दाबी गरे। उनले पुल निर्माण कार्य चाँडै सकिने पनि बताए।
उनले भने, ‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतीय जनता र सरकार चाहन्छन्। यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै छ। यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारे पनि कुराकानी भइरहेको छ।’
राजदूत श्रीवास्तवले नयाँ आयात गहुँ र चिनीमा नेपाललाई उपलब्ध गराउने सहुलियतको बारेमा पनि छलफल भइरहेको जानकारी दिए।