काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसित सत्तारूढ दल नेपाली कांग्रेसका पदाधिकारीले नागरिकता विधेयकका विषयमा छलफल गरेका छन् । सोमबार दिउँसो कांग्रेस पदाधिकारीहरू राष्ट्रपतिको कार्यालय शीतलनिवास पुगेका थिए ।
आफूहरूले नागरिकता विधेयकका विषयमा कुरा राखेको छलफलमा सहभागी एक नेताले बताए । “यो विधेयक केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत ल्याएको थियो र त्यही विधेयक प्रतिनिधिसभाले पारित गरेको हो भनेर प्रधानमन्त्रीज्यूले समेत भन्नुभयो,” ती नेताले भने ।
ती नेताका अनुसार राष्ट्रपति भण्डारीले आसन्न निर्वाचनका विषयमा चासो राखेकी थिइन् । निष्पक्ष ढंगबाट निर्वाचन सम्पन्न गरेर मुलुकलाई गति दिनुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीसित भेट गर्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका थिए ।