काठमाडौं: जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएको नौ दिनमै डीएसपी हेमबहादुर केसी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका छन्। प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्र कुमार रसाईलीमाथि हातपात गरेको आरोप लागेपछि उनलाई नक्साल तानिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले सईलाई कुटेको कसुरमा हडक्वार्टर तानिएको हो।
यसअघि नक्सालमै कार्यरत डीएसपी केसी १५ वैशाखमा जिल्ला प्रहरी कार्यालय डोल्पामा हाजिर भएका थिए। हाजिर भएको आठ दिनमै मुद्दा फाँटमा ५ वर्षदेखि कार्यरत सईलाई कुटपिट गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो।
सई रसाइलीलाई डीएसपी केसीले एक्कासि बोलाएर उनलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज र कुटपिट गरेको बताइएको छ। त्यसपछि उजुरी परेकोमा भोलिपल्टै उनलाई हेडक्वार्टर तानिएको जनाइएको छ।
हेडक्वार्टरको आदेशपछि डीएसपी केसी सार्वजनिक बस चढी काठमाडौं लागेका थिए। यसबीच घटनाको विषयमा छानबिन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालयबाट डीएसपी नारायण डाँगीको टोली बिहीबार बिहानै डोल्पा पुगेर छानबिन सुरु गरेको छ।