धनगढी: कञ्चनपुरको महेन्द्रनगर हुँदै कैलालीको अत्तरिया र धनगढी आउने भन्सार छलिका सामान बोक्ने गाडीहरुसँग प्रहरीले सेटिङ र बार्गेनिङ गर्ने गरेको खुलेको छ। प्रहरीकै स्रोतले दिएको जानकारी अनुसार घुमुवा प्रहरी (सादा पोसाकमा खटिने) को मिलेमतोमा सेटिङ हुने गरेको हो।
आर्थिक चलखेलका आधारमा बार्गेनिङ र सेटिङ मौलाएको स्रोतको दाबी छ। स्रोतका अनुसार महेन्द्रनगरबाट न्यून भन्सार मूल्यांकन तथा भन्सार चोरी निकासी गरि कैलालीको अत्तरिया हुँदै सुदूरपश्चिमको पहाडी जिल्ला र धनगढीतर्फ आउने गाडीसँग घुमुवाले सेटिङ गर्ने गर्दछ। जसमा राजस्व चुहावटको सामान हुने गरेको र त्यसमा सेटिङ हुने गरेको बताइएको हो।
प्रहरीले नै विभिन्न स्थानमा गाडी रोकेर पैसा बुझ्दै गाडी छोड्ने गरेको स्रोतले जनाएको छ। घुमुवा प्रहरीले गाडीहरु भन्सार हाल्ने धम्की दिने बार्गेनिङ गर्ने र पैसा असुल्ने गतिविधि बढेको बताइएको हो।
कहिलेकाही प्रहरीले अन्डर बिलिङको सामान पनि जफत गर्ने भन्दै असुली गर्ने गरिएको बताइन्छ। तस्करसँगको सो सेटिङ सादा प्रहरीहरुको मोबाईल फोन रेकर्ड (सिडिआर) हेरेपछि छर्लङ्ग हुने देखिन्छ। यसबारे प्रहरीका हाकिम र सरोकारवालाले छानबिन गर्न जरुरी देखिन्छ।
केही समय अगाडिमात्र महेन्द्रनगरबाट धानुक थरका एक असईले फोन गर्दै कैलालीका घुमुवालाई समन्वय गरेपछि एक गाडी छाडिएको खुलेको थियो।
विशेषगरी प्रहरीले अत्तरियाको चौकीडाडा र धनगढीमा पटक पटक यस्तो सेटिङमा सामान समातेर मोलमोलाइ गर्दै छाड्ने गरेको गुनासो छ।