काठमाडौँ – नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा अध्यक्ष ली सोमबार काठमाडौँ आइपुगेका हुन् । सोही दिन सभामुख सापकोटा र अध्यक्ष लीले सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
अध्यक्ष लीले यही भदौ ३० गतेसम्म गर्ने चारदिने औपचारिक भ्रमणका क्रममा यही भदौ २९ गते बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।
चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अध्यक्ष लीको नेतृत्वमा छ जना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भदौ ३० गते बिहीबार बिहान विशेष विमानबाटै स्वदेश फर्कने कार्यक्रम छ ।