काठमाडौं – नेकपा एमालेले संविधान दिवसको अवसर पारेर वाकाथन गर्ने भएको छ ।
एमालेले असोज १ गते प्रातःकालीन पैदल भ्रमण आयोजना गरेर वाकाथन गर्ने भएको हो ।
संविधान दिवस असोज ३ गते पर्दछ । एमालेले निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले संविधान दिवसको दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको बताएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ बानेश्वरबाट पैदल हिँड्नेछन् । असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने जनाइएको छ भने मर्निङ वाककै रुपमा वाकाथन गर्दै एमालेको काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले बताए ।
रिजालका अनुसार संविधान निर्माणका बेला कांग्रेस नेतृत्वको सरकार रहे पनि देशी–विदेशी चुनौती सामना गर्दै निर्णायक पहल एमालेले लिएको विगत सम्झना गर्दै ओली आफैं पैदल हिँड्न लागेको उनले बताए ।
एमालेले आफ्ना शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।