काठमाडौँ – स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै गएको सोमबारदेखि अनशन थालेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ । कैलालीको धनगढीमा २० औँ अनशन थालेको चौँथो दिनमै डा। केसीको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।
धनगढीस्थित कृष्ण मन्दिरबाट अनशन थालेका उनको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । गएरातिदेखि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ ।
डा.केसीका सहयोगी अमृत जैसीका अनुसार केसीको अवस्था जटिल बन्दै गएको छ । डा. केसीले उपचार गराउन मानिरहेका छैनन् । स्वास्थ्य अवस्था निकै कमजोर भए पनि उनले सरिलाई तागत दिने कुनै औषधि लिन नमानिरहेको जैशीले बताए ।
आज (बिहीबार) १२ बजेदेखि भने उनलाई नर्मल स्लाइन दिन सुरु गरिएको छ । उनको स्वास्थ्य रेखदेखमा वरिष्ठ फिजिसियन डा.शेरबहादुर कमरको टिम खटिएको छ । उनका अनुसार लामो समयसम्म पानीबाहेक अन्य खानेकुरा नखाँदा डा। केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेका छन् ।
डा.केसीमा राति सुत्न नसक्ने, छिनछिनमा पिसाब लाग्ने, मांसपेशी अत्यधिक दुख्ने, बोल्नमा समस्या हुने जटिलता देखिएको उनको रेखदेखमा रहेका डा। अमृत जैशीले बताए ।
डा. केसीले शुद्ध पानीबाहेक अरू केही खान मानिरहेका छैनन् । पटक पटक अनशन बस्दा र बढ्दो उमेरका कारण उनको स्वास्थ्यमा जटिल समस्या देखिनसक्ने चिकित्सकहरूको चिन्ता छ । चिकित्सा शिक्षा सुधारका लागि भनेर डा. केसी पटक पटक अनशन बस्दै आएका छन् । विगतमा देशका विभिन्न क्षेत्रबाट अनशन बसेका डा. केसीले यस पटक सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका छन् ।