काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्। उनीविरुद्ध दसैं अगाडि नै पक्राउ पूर्जी जारी भएको थियो।
तर उनी पक्राउ नपर्दा बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्।
उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा नै दायर भएको छ।
उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयबाट अदालतमा पुगेर मुद्दा दायर भएको हो। उनी मुछिएको हनि ट्रयापिङ प्रकरणमा फरार शाहीसहित ६ जनाविरुद्ध जिल्ला अदालत, ललितपुरमा मुद्दा दायर भएको बताइएको छ।
भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि समेत अनुसन्धान गर्नुपर्ने रायसहितको मुद्दा दर्ता गरिएको स्रोतले जनाएको छ। सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो।
जसमा ६ जनामध्ये चार जना पक्राउ परेकोमा अन्य दुई जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको छ।केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलले फरार इन्सपेक्टर शाहीसहित गिरोहका नाइके ताज इस्लाम, सुष्मा विक, भिमादेवी थापा, महेन्द्र हमाल र दर्शन पोखरेलविरुद्ध मुद्दा दायर भएको हो।
जसमा शाही र पोखरेल फरार छन्। उनीविरुद्ध संगठित अपराध र आपराधिक लाभ सम्बन्धिको मुद्दा दायर गरेको हो।
हनि ट्रयापिङमा संलग्न गिरोहले गत ७ असोजमा ललितपुरको भैंसेपाटी प्रभागमा इटहरीका व्यापारीलाई पक्राउ गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै धम्काएर ३० लाख लिएको थियो।
जसमा प्रहरीको समेत मिलेमतो थियो। त्यसबेला प्रभागको प्रमुखमा इन्सपेक्टर शाही थिइन्।
उनी समेत गिरोहमा मिलेको छानविन समितिले औंल्याएको थियो। हाल निलम्बनमा रहेकी शाहीलाई पक्राउ नगरी मुद्दा दायर गरिएको छ।
यहीँ प्रकरणमा नेपाल प्रहरीका एसपी कमल थापा पनि तानिएका थिए। तर उनलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै हाललाई मुद्दा चलाइएको छैन। जबकी उनी कार्यरत अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयबाट छानबिनमा तानिएर हेडक्वाटर झिकाइएका थिए।
र, यो पनि: फरार इन्सपेक्टरको ‘हनि ट्रयाप’ प्रकरण: वकिलकोमा चलखेल, कहाँ छिन् लुकेकी ?