काठमाडौं – काठमाडौं महानगरले टुकुचा खोला खोजी जारी राखेको र भौतिक संरचना भत्काउन लागेको भन्दै परेको रिटमा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्स प्रालिको तर्फबाट निर्देशक भोला विक्रम थापासहित तीन जनाको रिटमाथि सुनुवाइ गर्दै ‘प्रमाण मिसिल झिकाउने’ आदेश दिएको हो । यसअघि अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमण गरिएको भन्दै खोला खोज्ने अभियानलाई तिब्रता दिइरहँदा त्यसको बिरोधमा गत साउन ३१ गते उच्च अदालतमा रिट दर्ता भएको थियो ।
अदालतको यो आदेश आएसँगै काठमाडौं महानगरका प्रमुख मेयर बालेन्द्र शाह बालेनले सामाजिक सञ्जाल फेसवुक मार्फत असन्तुष्टी व्यक्त गरेका छन् । उनले भनेका छन,’ फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा (इछुमती) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’