काठमाडौँ – हात्तीसारस्थित जयनेपाल हलदेखि कमलादीसम्म भूमिगत बनाइएको टुकुचाको रेखाङ्कन गर्न कानुनी रूपले नसकिने भूमि मन्त्रालयले निष्कर्ष निकालेको छ।
भदौ सुरुतिर महानगरले टुकुचाको रेखाङ्कन गर्न भन्दै नापी विभागलाई चिठी लेखेको थियो। त्यसपछि विभागले आफ्नो तालुक मन्त्रालय भूमि व्यवस्था मन्त्रालयमा महानगरको प्रस्ताव जानकारी गराएको थियो।
मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो। समितिले मुख्य दुई निष्कर्ष निकालेर मन्त्रालयलाई बुझाएको जोशीले जानकारी दिए।
समितिले टुकुचा रेखाङ्कन नै गर्ने भए सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समिति बनाउन र अध्ययन गरेर निकालिएको निष्कर्षका आधारमा प्रक्रिया अघि बढाउन सक्ने अर्को निष्कर्ष पनि प्रतिवेदनले दिएको छ।
प्रतिवेदनको निष्कर्ष महानगरका प्रशासकीय अधिकृत वसन्त अधिकारी र मेयरका सल्लाहकार समेतलाई जानकारी गराइसकेको उनले बताए।
महानगरले पठाएको चिठीको जवाफ भने डिल्लीबजारस्थित नापी कार्यालयले दिने नापी विभागका प्रवक्ता दामोदर ढकालले जानकारी दिए। उनले पनि नक्सामा नदेखिएपछि टुकुचाको रेखाङ्कन गर्न कानुनी हिसाबले नमिलेको बताए।