काठमाडौँ – अछामका पहिरो पीडितका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले अछामको तुर्माखाद, ढकारी र कमलबजार गाउँपालिकामा गएर राहत रकम हस्तान्तरण गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारले अछामका पहिरो पीडितलाई १३ लाख ४० हजार रकम किरियापुत्रीलाई हस्तान्तरण गरेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले जानकारी दिए ।
पहिरोमा ज्यान गुमाएका एक व्यक्तिलाई क्षतिपूर्ति स्वरूप एक लाख र किरिया खर्च २० हजार गरी एक लाख २० हजार र एकै घरपरिवारका एकभन्दा बढी व्यक्तिको पहिरोमा परेर मृत्यु भएका परिवारलाई एकमुस्ट दुई लाख क्षतिपूर्ति र किरिया खर्च २० हजारका दरले राहत रकम हस्तान्तरण गरिएको कानुनमन्त्री रावलले बताए ।
विपतका समयमा एक अर्कालाई सहयोग भावना देखाउँदै पीडामा मल्हम लगाउन सबैले हातेमाले गर्नुपर्ने समेत उनले बताए ।
अछाममा पहिरोले धेरै क्षति पुर्याएको बताउँदै राहत वितरण गर्न पुगेका मुख्यमन्त्री त्रिलोचन भट्टले यसलाई चाँडै पुनःस्थापनामा लाग्ने बताए ।
गत भदौ ३१ गते रातिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा ठूलो धनजनको क्षति भएको थियो । वर्षातका कारण सबैभन्दा बढी अछाममा क्षति पुगेको थियो । पहिरोले अछाममा २३ जनाको मृत्यु हुनुका साथै १ जना बेपत्ता भएका छन् ।