काठमाण्डाै – निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावका लागि जारी भएको आचारसंहिता विपरीत हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानलाई स्पष्टीकरण माग गरेको छ ।
स्पष्टीकरणमा आयोगलाई जानकारी गराइ विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित रुपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुनेबाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
यस्तै, पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारीले आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको छ ।
फलेवास नगरपालिका वडा नम्बर ४ मा रहेको विद्यालयका शिक्षक तिवारीले निर्वाचन आचारसंहिता विपरीत आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचार सामग्री पोष्ट तथा सेयर गरी भोट मागेको उल्लेख छ । शिक्षक तिवारीलाई आफैँ उपस्थित भइ लिखित स्पष्टीकरण दिनुपर्ने भनिएको छ।