धनगढी: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चोमेन्द्र न्यौपानेमाथि विभिन्न कार्यालय र स्थानीय तहबाट पैसा असुली गरेको गम्भीर आरोप लागेको छ।
स्रोतका अनुसार सीडीओ न्यौपानेले दशैं, तिहार लगायतका अवसरमा कार्यालयहरूबाट पैसा मागेको र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नाम प्रयोग गरी रकम असुली गरेको भनिएको छ।
डडेल्धुरास्थित एक कार्यालयका कर्मचारीले भने, “सीडीओले राज्यमन्त्रीलाई यसरी नै सहयोग गर्नुपर्छ भन्दै रकम माग गर्नुहुन्छ। उहाँका गतिविधिले कर्मचारीहरू वाक्कदिक्क भएका छन्।”
त्यसमक सीडीओ न्यौपानेले कानुनी उपचारमा जाने र सो विषय आरोपमात्र भएको बताए। उनले आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरे। यसलाई लिएर उनले कानुनी उपचार खोज्ने उनको भनाई छ।
यस्तै उता सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सीडीओ न्यौपानेले आफ्नो नाम दुरुपयोग गरी पैसा असुली गरिरहेको कुरा विभिन्न माध्यमबाट थाहा पाएको बताइन्। उनले यस विषयमा सीडीओसँग स्पष्टिकरण मागेको र आफ्नो नामबाट कुनै गलत कार्य भएको स्वीकार नगर्ने बताइन्।
सीडीओ न्यौपाने यसअघि पनि विवादमा पर्दै आएका थिए। उनी पहिलोपटक गत वैशाखमा डडेल्धुराको सीडीओका रूपमा आएका थिए तर केही समयमै फर्किएका थिए। गत भदौमा पुनः डडेल्धुरा आएका उनले सरकारी कार्यालयहरूको अनुगमन गरेर सुधारको प्रयास गरेको बताएका थिए।
तर, हालै गम्भीर आरोप लागेपछि उनको कार्यशैलीमाथि प्रश्न उठ्न थालेको छ।
यस घटनाले गृह मन्त्रालयले सीडीओहरूको गतिविधि निगरानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ। स्थानीय तह र कर्मचारीहरूले चोमेन्द्र न्यौपानेमाथि लागेको आरोपबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्।