काठमाडौं: नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो।
बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्।
पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत छन्। सुदूरपश्चिम घर भएका भट्ट कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, आचार्य लागु औषध नियन्त्रण ब्यूरो, पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग र थपलिया मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखामा कार्यरत छन्।
तर यस अगाडिदेखि नै वरिष्ठताको सूचीमा पहिलो नम्बरमा भएका एसएसपी ओम बहादुर राना भने बढुवा सिफारिसमा छुटेका छन्। स्रोतका अनुसार उनी विगतमा पटक–पटक विभागीय कारबाहीमा परेको कारणले बढुवाबाट छुटेका हुन्।
रानाको २०६६ सालमा दुई वर्षका लागि बढुवा रोक्का भएको थियो। त्यसपछि २०६८ सालमा फेरि दुई ग्रेडका लागि रोक्का गरिएको थियो। २०७८ सालमा पनि उनलाई विभागीय कारबाही गरिएको थियो।
राना हाल मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रमुख रहेका छन्। उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए। तर, विगतका विवादित क्रियाकलापका कारण यो पटक बढुवा समितिले उनलाई छुटाएको छ।
उता रानाका ब्याचमेटहरू भने यसअघि नै डीआईजीमा बढुवा भइसकेका छन्। तीमध्ये केही आगामी चैतमा एआईजी बन्ने सम्भावना रहेको छ।
यस्तै पावर सेन्टरको नजिक मानिएका एसएसपी दिलिप सिंह देउवा पनि यो पटक बढुवा हुन सकेनन्। उसो त उनी यस अगाडि नै बढुवा पड्काउने लाइनमा थिए। तर दोस्रो पटक भएको डीआईजी बढुवा सिफारिसमा पनि उनी अटाएका छैनन्। उनी आफूलाई पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निकटस्थ मान्छन्।
र, यो पनि: सुदूरपश्चिमका भट्टसहित ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस [नामसहित]