धनगढी: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त रूपमा लाग्नुपर्ने बताएका छन्।
एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशित गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन कार्यक्रममा बोल्दै भट्टले प्रदेशको स्रोत साधनको पहिचानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने लक्ष्य रहेको बताए।
‘सुदूरपश्चिमलाई सबैभन्दा विकसित प्रदेश बनाउने हाम्रो लक्ष्य हो, सबै मिलेर यो लक्ष्य हासिल गर्नुपर्छ’, भट्टले भने।
उनले पार्टीभित्र देखिएको देखावटी एकताको आलोचना गर्दै आन्तरिक गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता र रुपान्तरणको बाटो अँगाल्नुपर्ने आवश्यकता औंल्याए। आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न पनि उनले आग्रह गरे।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम इञ्चार्ज झपट बोहराले पार्टीको आन्तरिक जीवनमा मुखपत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सूर्य युग ले राजनीतिक चेतना र विकासको गतिविधि जनतासम्म पुर्याउने बताए। ‘मुखपत्र सबै जिल्लामा पुग्नुपर्छ’, उनले भने।
प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले पहिलो प्रयास सकारात्मक रहेको उल्लेख गर्दै पत्रिकालाई अझ उत्कृष्ट बनाइने बताए। सचिव रणबहादुर चन्दले पार्टी गतिविधिलाई सार्वजनिक गर्न मुखपत्र प्रकाशन गरिएको जानकारी दिँदै यसलाई निरन्तरता दिइने बताए।
प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले विभाग गठनपछि नीति, योजना र सिद्धान्तलाई आम कार्यकर्ता र पाठकसम्म पुर्याउने उद्देश्यले मुखपत्र सुरु गरिएको बताइन्। साथै, उनले अनलाइन पोर्टल र युट्युब च्यानल सुरु गर्ने योजना रहेको जानकारी दिइन्।
प्रदेश कमिटी सदस्य तथा विभाग उपप्रमुख मतृका प्रसाद तिमिल्सेनाले सूर्य युग पत्रिका लामो प्रयासपछि सुरु गरिएको बताउँदै यसले पार्टीको नीति र कार्यक्रम जनतासम्म पु¥याउने बताए। आगामी दिनमा मुखपत्रलाई अझ परिस्कृत बनाइने उनको भनाइ थियो।