काठमाडौँ – नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक जितेको छ । प्रतियोगिता खेलेको पहिलो पटक नै पुलिसले स्वर्ण जितेको हो । मंगलबार भएको फाइनलमा एपीएफ क्लबलाई ५ रनले हराउँदै पुलिस क्लबले स्वर्ण जितेको हो ।
पोखरा क्रिकेट मैदानमा पुलिसले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८४ रन बनायो । एपीएफका लागि रोमा थापाले २६ तथा राजमती ऐरीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
पुलिसका लागि ईश्वरी विष्टले २ तथा हिरन्माई रोय, सङ्गीता राई र कप्तान रुबिना क्षेत्रीले समान १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ४ विकेट गुमाएर ८९ रन बनाएको थियो ।
पुलिसका लागि काजल श्रेष्ठले २७ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् । एपीएफका लागि नेरि थापा,इन्दु बर्मा र कप्तान सीता राना मगरले समान १र१ विकेट लिए ।