काठमाण्डाै – मौसम खुलेसँगै किसान धान काट्न व्यस्त भएका छन् । मध्यपहाड तथा तराई क्षेत्रमा पाकेको धानबाली भित्र्याउने क्रम सुरु भएको छ ।
यसवर्षको मनसुन सक्रिय भएलगत्तै छिटो पाक्ने जात लगाएका किसानलाई यतिबेला धान काट्न, चुट्न र थन्काउन भ्याइनभ्याइ छ । यसवर्ष मनसुन बाहिरीने बेला परेको पानीले पश्चिमी क्षेत्रमा धानबालीमा क्षति समेत गरेको छ । कृषि विज्ञले धान काट्नु र चुट्नु अगाडि मौसमबारे जानकारी लिन, कृषि बुलेटिनको सहयोग लिन र यसका लागि नजिकको कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न आग्रह गरेका छन् । यसपाली पनि मौसमले खासै साथ नदिएको, किसानले मल नपाएको तथा बाढी र डुबानले क्षति गरेपछि उत्पादन केहि घट्न सक्ने अनुमान गरिएको छ ।
त्यससँगै भण्डारणका बेला ध्यान नदिँदा २० देखि २५ प्रतिशत क्षति हुने गरेको पाइएको छ । धान काटिसकेपछि चिस्यान घटाउन दुई घाम सुकाउनुपर्छ । राम्रोसँग नसुकेको धानमा ढुसी आउने, कालो हुने र घुनपुत्ला लाग्ने हुन सक्छ । साथै धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला सङ्कलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्न पनि विज्ञको सुझाव छ ।
भण्डारण गरिसकेको धानलाई पनि बेलाबेला हेरेर चिस्यान अवस्थाबारे जानकारी राख्न, घुनपुत्ला लागेको पाइएमा पुन सुकाउन विज्ञको सुझाव छ । धान काट्ने काममा लाग्ने खर्च र समयको बचत गर्न उपलब्ध प्रविधि प्रयोग गर्न नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम हर्दिनाथका वैज्ञानिक सुशील सुवेदीको सुझाव छ । कृषिसम्बन्धी कुनै जिज्ञासा भएमा नार्कको पैसा नलाग्ने फोन नम्बर ११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म सम्पर्क गर्न पनि उहाँको आग्रह छ ।
धान उत्पादन घटे नेपालमा चामलको आयात बढ्छ । यसवर्ष बाढीको क्षतिसँगै पसाउँदै गरेको धान बालीमा रोग र किरा पनि देखिएकाले उत्पादन कम हुनसक्ने अनुमान छ । चितवनमा खपटे किरा तथा मोरङ, नवलपरासी, तनहुँलगायतका जिल्लामा राते र पहेँले रोग देखिएका कारण उत्पादनमा केहि कमी हुन सक्ने कृषि विज्ञ डा.घनश्याम भण्डारी बताउनुहुन्छ । मुखैमा आएको बाली थन्काउन र भण्डारणमा अलि चनाखो हुन डा. भण्डारीको सुझाव छ ।
पोहोर असोज/कात्तिकको बेमौसमी वर्षाले धानको उत्पादन घटेको थियो । अघिल्लो वर्ष झण्डै ५ लाख टन धानको उत्पादन घटेको थियो । २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको थियो । २०७८÷७९ मा ५१ लाख ३० हजार ६ सय २५ टन उत्पादन भयो ।
अघिल्लो वर्ष धान थन्काउने बेला असोज अन्तिम तथा कात्तिकको पहिलो हप्ताको बेमौसमी वर्षा र बाढीले क्षति गरेपछि समग्र राष्ट्रिय धान उत्पादनमा कमी आयो । यसपाली पनि धानको उत्पादन घट्न सक्ने भएकाले खाद्य असुरक्षाको जोखिम बढेको छ । बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन किसानको माग छ ।