धनगढी- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका ७ चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। उनी कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका हुन्।
देउवाले ४ दिनमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जिल्लाका सातवटै स्थानीय तहमा आयोजना गर्ने सभालाई सम्बोधन गर्ने तालिका छ। देउवा १७ गते डडेल्धुरा सदरमुकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुनेछन् भने १८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिका, २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुनेछन्।
देउवासँगै ती चुनावी आमसभालाई प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ।
त्यस्तै, कांग्रेस सभापति देउवाले गृह जिल्ला डडेल्धुरा जान निर्वाचन आयोगसँग अनुमति लिएका छन्। मंसिर ४ मा हुने निर्वाचन केन्द्रित चुनावी गतिविधिमा सहभागी हुन डडेल्धुरा जान लागेका उनलाई आयोगले प्रधानमन्त्रीको हैसियतमा नभई व्यक्तिगत तथा उम्मेदवारको हिसाबले मात्रै प्रस्तुत हुने गरी अनुमति दिएको बताइएको छ।