बैतडी– बैतडीमा यस बर्ष धान उत्पादन वृद्धि भएको छ। गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ। ज्ञान केन्द्र बैतडीका अनुसार यस बर्ष जिल्लामा १ हजार मेट्रिक टनले धान उत्पादनमा वृद्धि भएको हो।
८ हजार ५५० हेक्टर क्षेत्रफलमा यो बर्ष १७ हजार १ सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कडेलले जानकारी दिए। गत बर्ष बैतडीमा १६ हजार २० मेट्रिक टन धान उत्पादन भएको थियो। गत बर्ष धान भित्र्याउने बेलामा बर्षा भएकाले धान उत्पादनमा कमी आएको थियो।
यो बर्ष समयमा पानी परेका कारणले रोपाइँ पनि समयमै सकिएको र सिँचाइको सुविधा भएका ठाउँमा धान उत्पादनमा वृद्धि भएको कडेलले बताए। बैतडीको पाटन क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ। यसका साथै गोकुलेश्वर, हाट, ढुंगाडा, सलेना, सुर्नया लगायतका क्षेत्रलाई धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको छ।
पाटनमा भने यो बर्ष धानमा रोग लागेका कारण खासै उत्पादन हुन नसकेको स्थानीय दिनेश बिष्टले बताए। बैतडीमा रैथाने धानका जातहरु भने लोप हुँदै गएका छन्। उन्नत जातका धानहरु लगाउने किसानको संख्या बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ।