धनगढी: कैलालीको घोडाघोडी नगरपालिका–४ का २२ वर्षीय दिपक बिककाे उनकै बहिनी नाता पर्ने १४ वर्षीया किशोरीसँग माया बस्याे। दाजुबहिनीबीचको प्रेम सम्बन्धबारे परिवारले २०८० को फागुनमा थाहा पाए।
त्यो बेला किशोरीको पेटमा ३ महिनाको गर्भ थियो। दाजुबहिनीको अनुचित सम्बन्धलाई लिएर उनीहरुको परिवारमा तनाव सिर्जना भएको थियो।
परिवारले आफूहरुलाई छुट्याउन थालेको थाहा पाएपछि उनीहरु भागेर भारत जान्छन्। केही समय उतै बसेपछि परिवारका सदस्यहरुले उनीहरुलाई बिहे गरिदिने भन्दै फकाएर नेपाल ल्याउँछन्।
त्यसपछि मुद्दा
उनीहरू नेपाल पुगेपछि परिवार भने आफ्नो बाचाबाट पछाडी हट्छ। दिपकविरुद्ध किशाेरीलाई बलात्कार गरेको र हाडनाता करणीको आरोपमा ईप्रका सुखडमा मुद्दा दर्ता गरिन्छ। भने, किशाेरीकाे गर्भपतन गराइन्छ।
त्यसपछि पक्राउ परेका दिपक दिपकलाई २०८० को फागुन ३ गते जिल्ला अदालत कैलालीले पुर्पक्षका लागि कैलाली कारागार पठाउँछ।
तर, पनि उनीहरूबीचकाे प्रेम सकिँदैन। किशाेरी दिपकलाई भेट्न बारम्बार कारागार पुगिरहन्छिन्। कारागारको भेटघाट रजिष्टरको विवरण हेर्दा कारागारमा आएको तेस्रो दिनदेखि प्रेमिका दिपकलाई भेट्न आउन सुरु गरेकी छिन्।
प्रेमिकासँग विष मगाइयो
किशोरीको पेटमा रहेको गर्भपतन, अर्कोतिर दिपकको कारगार बसाई र आफूहरुका कारण पारिवारिक बिग्रह सिर्जना भएको विषयमा दुवै जना चिन्तित थिए। यी कुराले दुवै जना सँगसँगै मर्ने निष्कर्षमा पुगेका थिए। दिपकले किशोरीलाई बाहिरबाट विषादी किनेर कारागारमा ल्याउन भनेका थिए।
२६ भदौमा दिपकलाई भेट्न कैलाली कारागार पुगेकी प्रेमिकाले सोही दिन सलपास उनलाई दिइन्। त्यो दिन उनी तीन जाेर कपडा र एउटा अचारको प्लाष्टिकको डब्बा लिएर कारागार भेट्न गएकी थिइन्। उनले आचारको प्लाष्टिकको डब्बाभित्र पिँधमा प्लाष्टिकमै बाँधेर सलपास दिपकलाई दिएकी थिइन्।
साेही सलपास सेवन गरेर दिपक विकले सोमबार अपरान्ह आत्महत्या गरेका थिए। बोल्ने अवस्थामै कारागारमा भेटिएका उनको सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। उनले ३७ पन्ने सुसाइड नोट लेखेर देहत्याग गरेकाे खुलेकाे छ।
यस्ताे छ ‘सुसाइड नोट’
उनले ‘सुसाइड नोट’मा आफ्नो हातबाट गल्ती भएको र मर्नुको विकल्प नदेखेको भन्दै बुवा–आमा र आफन्तहरुसँग माफी मागेका छन्। ‘मलाई हजुरहरुको माया नभएको त होइन, माया त कति छ कति तर समय यस्तो आयो कि मैले केही सोच्नै सकिन। किन म यस्तो बाटो हिँडेछु भनेर’ उनले लेखेका छन्। दिपकले किशाेरीका बुवाका कारण दुवै जनाले सहमतिमा मृत्युको बाटो रोजेको उल्लेख गर्दै अब अर्को जुनीमा रमाउने कुरा समेत नोटमा लेखेका छन्। आफू कारागार चलान भएपछि प्रेमिकाको ठूलो खुसी खोसिएको र तनावका कारण कुनै निर्णय लिन नसक्दा मृत्युसँग लडिरहेकी तर अब भने दुवैजना कसैको जिन्दगीको बाधक नबने भन्दै मृत्युको बाटो रोजेको कुरा सुसाइड नोटमा उल्लेख छ।
उनले आमालाई आफ्नो ठूलो फोटो बनाएर आफ्नो कोठामा राख्न र नबिर्सन पनि लेखेका छन्।
‘ममाथि केस चलेपछि विचरी सानीको सबै चाहाना, ठूलो खुसी खोसिएको थियो। अर्को खुसी पनि खोसियो हाम्रो बच्चा। टेन्सेनले केही डिसिजन लिन नसक्ने सानीले सही र गलत सोच्न सकिन। बाँचेपनि मृत्युसँग लडिरहेकी थिई। हारियो जिन्दगीको लडाइँ। त्यसैले अब बाच्नु भन्दा मर्न बेस’ उनले लेखेका छन्, ‘हामी इज्जत फिर्ता दिन सक्दैनौँ। बरु मुक्ति दिन सक्छौँ। जिन्दगीमा अरुको तगारो बन्नु भन्दा पनि साइड लाग्न बेश। हामी हजुरहरुको जिन्दगीमा बाधक हुदैनौँ।’
मृतक दिपकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। भने, प्रेमिका प्रहरीको हिरासतमा छिन्। उनले अचारको डब्बामा सलपास ल्याएको र एकैदिन मर्ने भनी योजना बनाएको बयान दिएकी छिन्।
र, यो पनि: कैलाली जेल घटना: मृतककी प्रेमिका पक्राउ, विष खुवाएको शंका