काठमाडौं – मुलुकमा २०७९ को आमनिर्वाचन सम्पन्न भएपछि सरकार निर्माणका लागि बहुमत पुगाउने कसरत सुरु भएको छ। यो निर्वाचनबाट नेपाली काँग्रेस पहिलो दल बनेको छ। यस्तै क्रमशः नेकपा एमाले दोस्रो र अन्य कम्युनिष्ट तथा गैरकम्युनिष्ट दलहरुले आफ्नो हैसियत बनाएका छन्।
अहिले सत्ता गठबन्धनको काम चलाउ सरकार छ। सत्ता गठबन्धनमा पाँच दलहरु सम्मिलत छन्। नेपाली काँग्रेसले गठबन्धनको नेतृत्व गरिहेको छ। यस्तै नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चा लगायतका दलहरु पनि गठबन्धनमा सहभागी छन्।
गठबन्धनले आफ्नो सरकार बनाउन कसरत थालेका बेला कम्युनिष्टहरु पनि सरकार बनाउन कस्सिएका छन्। खासगरि नेकपा एमाले र माओवादी केन्द्रका दोस्रो तह (युवा पुस्ता) का नेताहरु बाम सरकार बनाउने माहोल मिलाउन खटिएका छन्।
सरकार नयाँ सरकार गठनको आह्वान हुनुपूर्व कम्युनिष्ट नेताहरूको दौडधुप तीव्र पारेका हुन्।
तत्कालीन सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको हिमचिम पछिल्लो समय बाक्लिएको छ। प्रतिनिधिसभामा प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भइरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डलाई टेलिफोनमार्फत बधाई दिँदै सहकार्यको छनक देखाएका थिए।
तत्पश्चात् एमाले र माओवादीका दोस्रो तथा तेस्रो तहका नेताहरू वाम गठबन्धनको सरकार गठन हुनुपर्ने आवाज उठाउँदै आएका छन्। आफू प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका प्रचण्डलाई फकाएर एमालेले आफ्नो कित्तामा ल्याउन छलफल जारी राखेको छ।
मंगलबार साँझमात्रै नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ। उक्त भेटवार्ताले एमाले र माओवादीबीच सरकार गठनका लागि सहकार्यको छलफल सुरु भएको भन्ने विश्लेषण थालिएको छ। तर, भेटवाताका सरकार गठनबारे कुनै ठोस सहमति तथा छलफल नभएको महासचिव गुरुङले दाबी गरेका छन्।
यतिमात्रै होइन, यसअघि नेकपा एमालेका युवा नेता तथा ओलीका विश्वासपात्र महेश बस्नेतले पनि कम्युनिष्ट सरकार बनाउन सक्रियता बढाएका छन्। केही दिनअघि मात्रै बस्नेतले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादीका अध्यक्ष प्रचण्डलाई सत्ता सहकार्यको प्रस्ताव गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार ओलीको दुत बनेर गएका बस्नेतले बाम एकता आवश्यक रहेको ठहर गर्दै बाम सरकार बनाउन पहल गर्नुपर्ने नेताद्वयसँग प्रस्ताव राखेका थिए।
उनले राखेको प्रस्तावमा प्रचण्ड र नोपाल पनि सकरात्मक देखिएको बताइन्छ। तर, सार्वजनिक रुपमा भने माओवादी र समाजवादीले गठबन्धनलाई निरन्ता दिने बताउँदै आएका छन्। यदी बाम गठबन्धनको सरकार बन्ने अवस्था आयो भने प्रचण्ड सहज रुपमा आलोपालो प्रधानमन्त्री बन्ने नेताहरुको दाबी छ।