धनगढी: कैलालीमा प्रहरीले भन्सार छली गरेर अवैध रुपमा ल्याइएको ६ लाख बराबरको तस्करीको सामान बरामद गरेको छ।
धनगढी उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरेर भारतबाट ल्याएको ६ लाख दुई हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
उनकाअनुसार धनगढी उपमहानगरपालिकाको आदर्श चोक र त्रिवेणीघाटबाट ३२ हजार ७५० रुपैयाँ बराबरको माछा, चिनी, प्याज र किरानाका सामान बरामद गरिएको छ भने गोदावरी नगरपालिका–३ को चौकीडाँडाबाट अन्दाजी दुई लाख ३१ ह्जार ८०० बराबरको कपडा बरामद गरिएको छ।
यस्तै, कैलारी गाउँपालिका–५ को मनिकापुरबाट एक लाख ९५ हजार ५ सय बराबरको ईनभटर, ब्याट्री, कपडा र नाईलन रसी, टिकापुर नगरपालिका–८ को बेलुवाबाट एक लाख आठ हजार ४०० बराबरको तेल, मोजा, छिद्रा माछा मम्फली बरामद गरिएको प्रहरी निरीक्षक खड्काले बताए।
भजनी नगरपालिकाको काँडा र पहलवानपुरबाट ३० हजार दुई सय बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा र जोशीपुर गाउँपालिका–३ को फाडियाबाट चार हजार बराबरको चिनी बरामद गरिएको उनले बताए।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।