काठमाडौं: नेपाल प्रहरीमा अस्तिमात्र डीआईजी सिफारिसको काम सकियो। लामो राजनीतिक रस्साकस्सीबीच डीआईजीमा बढुवा सिफारिस गरिएको हो।
सो सिफारिसपछि प्रहरी प्रधान कार्यालयले अब अन्य रिक्त रहेका पदमा बढुवाको तयारी एवं गृहकार्य थालेको छ।
स्रोतका अनुसार रिक्त रहेको एसएसपीको बढुवा केही सातामै निकालिने छ। यद्यपि त्यसको गृहकार्य भने अहिले नै थालिएको छ। अन्य कुरा यथावत रहेमा ढिलोमा अर्को साताको अन्तिमतिर एसएसपी बढुवा गर्ने तयारी छ।
यस्तै एसएसपीपछि एसपी र डीएसपीमा पनि बढुवाको तयारी थालिएको छ।
प्रहरीमा हाल २० एसएसपी, ३२ एसपी र ७० डीएसपीको दरबन्दी रिक्त छ। रिक्त पदमा प्रहरी प्रधान कार्यालय नक्सालले बढुवाको गृहकार्य थालेको हो।
बढुवाको गृहकार्य थालिएपछि अहिले बढुवाको लागि आकांक्षीहरु शक्तिकेन्द्र धाइरहेका छन्।
जसअनुसार एसएसपीका २० पदमा ५५ भन्दा धेरै एसपीहरु प्रतिस्पर्धामा छन्। तर यस अगाडि यो रेसमा रहेका विवादित एसपी कमल थापा भने रिङआउट हुने चर्चा छ। उनलाई प्रहरी महानिरीक्षकले नै अनुसन्धान तानिएको भन्दै बढुवा गर्न नहुने अडान लिएको स्रोत बताउँछ। उनीमाथि अहिले पनि भैसेपाटी प्रकरण अर्थात् फरार प्रहरी इन्सपेक्टर बिनुकुमारी शाहीसहितको हनि ट्रयापिङ प्रकरणमा अनुसन्धान भइरहेको छ। यद्यपि उनले यस अगाडि चलखेलका आधारमा सिआईबीमै समेत आफूविरुद्धको मुद्दा रोकाएका थिए। तर पुनः सरकारी वकिलको कार्यालयले भने उनलाई छानबिन गर्न भनेको छ।
उनीबाहेक अन्य अहिले एसएसपीको दौडमा ११२ को टोली र ११४ टोली छ। जसमा एसपी गोविन्द अधिकारी, बिनोद सिलवाल लगायत छुटाउन नमिल्ने अवस्थामा छन्।
त्यस्तै रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसीहरु पनि बढुवाको लाइनमा छन्।
त्यस्तै एसपी होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, राजेन्द्र धमला, केदार खनाल, दीपेन्द्र शाही, चक्रराज जोशी लगायत पनि अहिले बढुवाको प्रतिस्पर्धामा छन्।
यस्तै एसपी र डीएसपी बढुवा पनि छिट्टै गर्ने तयारी छ। जसमा पनि चर्को प्रतिस्पर्धा देखिन्छ।