काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले मंगलवार एकैपटक ८ हजार ४८८ जना जवानको सरुवा गरेको छ । सरुवा प्रयोजनका लागि केही समयअघि मात्र देशभरका जवानहरूलाई प्राथमिकता अनुसार ३ वटा युनिटको नाम लेखाएर फाराम नै भराइएको थियो ।
सोहीअनुसार सम्भव भएसम्म माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा गरिएको छ । सीमावर्ती ईलाकाका युनिटहरूमा लामो समय दरबन्दी भएका जवानलाई सीमा ईलाकाबाहेक अन्यत्र सरुवा गरिएको छ ।
सरुवाका लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो । मुख्यालयमा दरबन्दी माग गरेका ४५ जना जवानलाई समेत प्राथमिकतामा राखेर सरुवा गरिएको छ । घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा समेत मिलाएर सरुवा गरिएको छ ।
विगतदेखिकै सरुवा सम्बन्धी गुनासोलाई सम्बोधन गर्दै पतिपत्नीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । सशस्त्रका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले भने, ‘मुख्यालयले फाराम भराएर जवानहरूको ईच्छाअनुसार सरुवा गरेको यो पहिलोपटक हो । यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो समेत कम हुँदै जाने विश्वास मुख्यालयको छ ।’
अब बिल्लादार तथा जुनियर अधिकृतसम्म पनि जवानको सरुवाको मापदण्ड र तरिका अपनाएर बिस्तारै सरुवा गरिने नीति सशस्त्र प्रहरी बल नेपालले लिएको छ ।