काठमाडौं: एकताका सरकारबाहिर हुँदा सडकमै ओर्लिएर जिल्लाबासी निर्मला पन्तको न्याय माग गर्ने नेता रमेश लेखक हाल सरकारको गृहमन्त्री पदमा छन्। यानिकी उनी आफैं न्याय दिलाउने स्थानमा छन्।
तर, उनको त्यो न्याय माग र अहिलेको न्याय दिलाउने स्थानमा गएपछिको लोली र बोलीको भने कुनै मिलाप छैन। उनले पहिले हत्यारा पत्ता लगाउन नसक्नुलाई असफलता भन्दै तत्कालीन गृहमन्त्रीलाई जिम्मा लिन सुझाव दिएकोमा अहिले आफैं भने अनुसन्धान जारी छ भन्दै टार्ने परिस्थितिमा छन्।
उनलाई गृहजिल्लाकी पन्तलाई न्याय दिलाउन नसक्नु नै निल्नु न ओकल्नु बनिरहेको छ। अस्तिमात्रै गृहजिल्ला कञ्चनपुर पुगेर धनगढी फर्किएर्पछि लेखकले अनुसन्धान जारी छ भन्ने रेडिमेड जवाफ दिएर पन्छिए।
बिहीबार धनगढीमा प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो गरेका हुन्।
मन्त्री लेखकले गृह जिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेको बताएपनी हालसम्म कुनै नयाँ तथ्य बाहिर आउन सकेको छैन।
उता नेपाल प्रहरीले भने अनुसन्धान नयाँ तरिकाले थालिएको दाबी गर्दै आएको छ। सिआईबीका एआईजी दिपक थापाको नेतृत्वमा समिति गठन भएर छानबिन थालिएकोमा अहिले अनुसन्धान जारी रहेको बताइएको छ।
पन्त प्रकरणले बेलाबेला नेपाली राजनीतिलाई नै तरङ्गित पार्ने गर्दछ। सोही कारण पनि प्रहरीले अनुसन्धान नयाँ तरिकाले शुरु भएको र चाँडै कुनै ठोस प्रमाणसहित निश्कर्षमा पुग्न सकिने सम्भावनाप्रति आशावादी भएको जनाएको छ।
अनुसन्धानमा सक्रिय एक प्रहरी अधिकृतका अनुसार त्यसबेला आरोपित व्यक्तिका रुपमा पक्राउ परेर २४ दिनमा छुटेका व्यक्ति नै दोषी हुन् भन्ने देखिन्छ। तर, तथ्य र प्रमाणहरूले दिलिप सिंह बिष्ट नै अपराधी हुन् भनी किटान गर्न सक्ने आधार भने दिएको छैन। प्रहरी अधिकारीहरू भन्छन्- शायद तथ्य प्रमाण पनि उनलाई दोषी ठहर गर्ने गरी संकलन हुन सक्थ्यो तर त्यसबेला भीडका कारण प्रहरी आत्तियो, उल्टै कारवाही गरेर तिनलाई अत्याइयो। त्यसबेला प्रहरीले नै पनि घटनास्थलको संरक्षण र तथ्य प्रमाणहरूलाई जोगाएर राख्ने काममा कमजोरी गर्यो।
परिणामस्वरूप कतिपय एनजिओ, आइएनजिओहरूले खेल्ने मौका पाए। नागरिक समाजदेखि मिडिया अपराधीको खोजीमा भन्दा प्रहरीलाई दोषी देखाउने काममा लागे। त्यसरी दबावमा परेको प्रहरीले नियमित र स्वाभाविक अनुसन्धान गर्न सकेन। १३० जनाभन्दा बढी व्यक्तिको डिएनए परीक्षण गरियो तर सुराक फेला परेन।
अहिले भने कतै बलियो प्रमाण फेला परिहाल्छ कि भनेर अहिले प्रहरीले मानवीय स्रोत र जासुसहरुलाई सक्रिय बनाएको छ।
एक प्रहरी अधिकृत भन्छन्- हामीले अपराधी त्यसैबेला नै ठम्याएका हौं। मेडिकल रिपोर्टले उनलाई सिनोफ्रेनिक (मानसिक अवस्था ठीक नभएको व्यक्ति) भनिदिएका कारण केही गर्न सकिएन। नत्र मैले यस ढङ्गले करणी र हत्या गरेको हुँ भनेर साविती बयानमा बोलिसकेकै छन्।
अहिले बलात्कारको विषयले हदम्याद नघाइसकेको छ। अबको कारबाही र अनुसन्धान कर्तव्य ज्यान गरी मारेको सँग मात्रै जोडिएर अगाडि बढ्छ।
र, यो पनि: निर्मला प्रकरणको अनुसन्धान: यी र ती गृहमन्त्री !
निर्मलालाई न्याय माग्नेको चौथोपटक शल्यक्रिया, कहिले खुल्छ रहस्यको पर्दा ?
निर्मला प्रकरणमा सिआईबीले अनुसन्धान गर्दै