धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानका लागि नयाँ समितीले काम थालेको छ। अघिल्ला अनुसन्धान समितिहरूले बनाएका प्रतिवेदनहरूको निचोड एकीकृत गर्न नयाँ समिति गठन गरिएको हो। पुराना समितिहरूको प्रतिवेदन निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रहरी प्रधान कार्यालयले नयाँ अध्ययन समिति बनाएको हो।
नयाँ गठन गरिएको समितिलाई विगतमा गठन भएका सबै समितिका प्रतिवेदन अध्ययन गरेर त्यसका आवश्यक निचोडहरूलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले दुई महिनाअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाको नेतृत्वमा यो समिति बनाएका हुन्।
सोही बमोजिम समितिले थप अनुसन्धानको कामसमेत थालेको ज आएको छ। समितीका सदस्यसमेत रहेका सिआईबीका एसपी होविन्द्र बोगटीले अनुसन्धान थालिएको जानकारी दिए।
‘अहिलेसम्म भएका अनुसन्धानका राम्रा पाटाहरूलाई केलाएर छानबिन गर्ने काम अहिले पनि निरन्तर छ’, बोगटी भन्छन्, ‘स्थलगत पनि अनुसन्धान हुन्छ।’
कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो।
केही दिनपछि प्रहरीले घटनामा संलग्न रहेको भन्दै स्थानीय ४१ वर्षीय दिलिपसिंह विष्टलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। तर, त्यसबेला विष्ट मानसिक रोगी भएको र उनी दोषी हुन नसक्ने भन्दै प्रदर्शन चर्किएको थियो। पछि पन्तको भजाइनल स्वाबबाट निकालिएको नमुनासँग उनको डीएनए मिलेन। त्यसपछि उनी छुटेका थिए।
त्यसयता प्रहरीले सयौं व्यक्तिमाथि सोधपुछ र डीएनए जाँच गरेपनि अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।