काठमाडौं: कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै आन्दोलन गरेका एक घाइतेको चौथोपटक शल्यक्रिया गरिएको छ। हिजो (सोमबार) न्याय माग्दै आन्दोलन गर्ने सुरेन्द्र देउवाको भारतको बरेलीस्थित सिद्दीविनायक अस्पतालमा शल्यक्रिया गरिएको हो।
उनले आफू आन्दोलनका क्रममा घाइते भएको र आफ्नो हातको चौथोपटक शल्यक्रिया गरिएको जानकारी दिए। तत्कालीन समयमा निर्मलालाई न्याय माग्दै आन्दोलन गर्ने क्रममा एक जनाको ज्यानसमेत गएको थियो भने केही घाइते भएका थिए।
देउवा उनीहरूमध्येकै घाइते हुन्। संयोगवस निर्मलालाई न्याय माग्दै त्यसबेला आन्दोलन गर्ने हालका गृहमन्त्री तथा नेपाली काँग्रेस नेता रमेश लेखक पनि आज महेन्द्रनगरमै छन्। लेखक निर्मला प्रकरणपछि सडक आन्दोलनमै आएका थिए।
उनले आफू न्याय दिने स्थानमा पुग्दा भने निर्मला प्रकरण सुल्झाउन चासो नै नदिएको आरोप लागेको छ। उनीमाथि तत्कालीन समयमा निर्मला घटनामा राजनीति घुसाएको भन्दै आन्दोलन ग्राइनडिजाइनरको आरोप पनि लाग्यो।
तर उनै लेखक गृहमन्त्री बनेपछि निर्मलालाई न्याय दिने चुनौती छ। गृहमन्त्री लेखकले सो प्रकरणको अनुसन्धानले निरन्तरता पाउने बताएपनी आन्तरिक रुपमा निर्मला प्रकरण सुल्झाउनै नचाहेको बताइन्छ।
लेखक २०८१ असार ३१ मा गृहमन्त्री नियुक्त भएका थिए। त्यसयता उनी आज पहिलोपटक गृहप्रदेश र गृहजिल्ला पुगेका हुन्।
उनकै गृहजिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी बालिका निर्मला २०७५ साउन १० मा मृत फेला परेकी थिइन्। बलात्कारपछि उनको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।
सो घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै भएको लामो आन्दोलनका क्रममा भीमदत्त-१८ का १५ वर्षीय सनी खुनाको ज्यानै समेत गएको थियो।
निर्मला पन्तको बलात्कार र हत्या भएको ६ वर्ष पूरा भएको छ। तर, अनुसन्धान अधिकृतहरूले अहिलेसम्म नतिजा हात पार्न सकेका छैनन्। कयौं समिति तथा कयौं मान्छेलाई सोधपुछ तथा डीएनए परीक्षण गराएपनी सो प्रकरणमा प्रगति शून्यजस्तै छ।
गृहमन्त्री लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ का स्थानीय हुन्। भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरमा पनि उनको घर छ। लेखक कञ्चनपुर–३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
रमेश लेखक भन्दाअघिका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भने २०८१ असार ३० मा निर्मला पन्तको हत्यारा नजिक पुगेको बताएका थिए। तर त्यसबेला गठबन्धन र सरकार परिवर्तन भयो। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली बने भने गृहमन्त्री लेखक बनेका छन्।
त्यसबीचमा निर्मला प्रकरणमा पहिला पक्राउ परेर डीएनए नमिलेका कारण छुटेका दिलीप सिंह बिष्टविरुद्ध दोस्रोपटक पनि उजुरी परेको बताइएको छ। निर्मलाकी आमाले बिष्टविरुद्ध उजुरी दिएको बताइएको हो।
र, यो पनि: निर्मला प्रकरणको अनुसन्धान: यी र ती गृहमन्त्री !