काठमाडौं – पूर्णरूपमा निर्माण सम्पन्न नहुँदै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलबाट बनारस उडान गर्ने भएको छ । विमानस्थलनजिकै समस्याका रूपमा रहेको छिन्ने डाँडा कटान नसकिँदै आगामी जनवरी १ बाट क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्न लागिएको हो ।
नागरिक उड्डयनको अन्तर्राष्ट्रिय नियमअनुसार विमानस्थलनजिक हुन नहुने डम्पिङ साइट नहटाइँदै उडानको तयारी सौर्य एयरलाइन्सले गर्न लागेको हो । विमानस्थलका लागि आवश्यक पर्ने नेटवर्क सडक र ग्राउन्ड ह्यान्डलिङका लागि सम्पूर्ण कार्य नसकिँदै उडानको तयारी गरिएको हो । यद्यपि व्यावसायिक उडानको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक बिहीबार विमान अवतरण गरिएको छ ।
पोखराकै पुरानो विमानस्थलबाट उडेको यति एयरलाइन्स र बुद्ध एयरको जहाज नयाँ विमानस्थलमा अवतरण गराएर ‘डेमो फ्लाइट’ गरिएको हो ।
यसअघि नयाँ विमानस्थलमा क्यालिब्रेसन उडान सम्पन्न भइसकेकोे छ । नयाँ विमानस्थलमा यति एयरलाइन्सको जहाज उडाएर पुगेका प्रशिक्षक पाइलट प्रमोद पौडेलले विमानस्थल उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले भने, ‘यसले आन्तरिक उडान अझ सुरक्षित बनाउनेछ ।’
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् । पोखराबाट छोटो गन्तव्यमा रहेका केही एसियाली मुलुकमा उडान भर्न सकिने भएकाले यसलाई क्षेत्रीय विमानस्थल भनिएको हो । आगामी १ जनवरी २०२३ देखि विमानस्थलबाट साना जहाज, हेलिकोप्टर र अल्ट्राफ्लाइटबाहेक सबै उडान यसै विमानस्थलबाट हुनेगरी तयारी गरिएको छ ।
यस विमानस्थलमा नेपालकै पहिलो एरोब्रिज रहेको छ । अन्तर्राष्ट्रिय उडानका यात्रु अब यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्छन् ।
सौर्य एयरलाइन्सले जेट इन्जिनयुक्त जहाजमार्फत २०२३ जनवरी १ (पुस१७) देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने भएपछि पोखराबासी उत्साहित छन् ।
सौर्यको ५० सिट क्षमतायुक्त ‘सिआरजे २००’ बम्बार्डियर जहाजमार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि काठमाडौंबाट बिहान ७ः२५ र दिउँसो ३ः१० मा उडान हुने सेड्युल बनाइएको छ ।
उडान सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जनवरी १ मा उद्घाटन गर्ने प्राधिकरणले तयारी गरेसँगै सौर्यले उडान भर्न लागेको हो ।