काठमाडौं: काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङलाई पठाइएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तामाङलाई सरकारले निर्णय गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा नियुक्त गरेको हो।
उनी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई रानीपोखरी सरुवा गर्ने निर्णय गरेको हो।
यसअघि सो पदमा रहेकी एआईजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनको अवकाशपछि रिक्त रहेको पदमा तामाङलाई जिम्मेवारी दिइएको हो। एआईजी तामाङले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीको शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको छ।
काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड हेर्नुपर्ने भएका कारण उपत्यका प्रहरी कार्यालयको जिम्मेवारीलाई महत्वका साथ हेर्ने गरिएको छ।