धनगढी: धनगढीस्थित कैलाली कारागारमा सल्फास भित्र्याउने प्रयास भएको घटनाले फेरि जेल सुरक्षाको अवस्था र कैदीहरूको सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ। मसुरोको दालको कट्टाभित्र सल्फास भेटिएको घटना अनुसन्धानको क्रममा छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख पदमबहादुर विष्टका अनुसार यो घटना खाद्यान्नसँग सम्बन्धित व्यक्तिको लापरवाही हुन सक्ने अनुमान गरिएको छ। तर, विषादी जस्तो संवेदनशील वस्तु कारागारसम्म पुग्नु गम्भीर मुद्दा हो।
यो घटना कैलाली कारागारमा भएको पहिल्यैको विष सेवन घटनासँग पनि जोडिएर हेर्न सकिन्छ। २०८१ भदौ ३१ गते कारागारभित्र २३ वर्षीय दीपक विकको विष सेवनका कारण मृत्यु भएको थियो। उक्त विष उनकी प्रेमिकाले अचारको बट्टामा पठाएको भन्ने तथ्य सार्वजनिक भएको थियो।
यस प्रकारका घटनाले जेलभित्र सुरक्षा व्यवस्थापन र चेकजाँच प्रक्रियाको कमजोरी देखाएको छ। नियमित चेकजाँच कडा पार्नुपर्ने र खाद्यान्नलगायत सामग्रीमा विषादी वा प्रतिबन्धित वस्तु भित्रिन नदिन प्रभावकारी उपाय अपनाउनुपर्ने आवश्यकता छ।
जिल्ला कारागार प्रमुख सन्देश जोशीले चेकजाँचका क्रममा शङ्कास्पद वस्तु फेला परेको बताएका छन्।