काठमाडौं: सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्यटन राज्यमन्त्री एवं कैलाली क्षेत्र नं २ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा यही पुस २४ गते फैसला सुनाउने भएको छ।
यसअघि गत बुधबारका लागि निर्णय सुनाउने दिन तोकिएकामा उक्त दिन न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएकाले फैसला सुनाउन पुस २४ को नयाँ तिथि तोकिएको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस विवादमा गत मंसिर १९ गते नै सुनुवाइ सम्पन्न गरिसकेको छ।
नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि समेत योग्य नभएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले २०७९ चैत १७ गते दायर गरेको रिटमा करिब २ वर्षपछि फैसला चरणमा प्रवेश गरेको हो।
फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने रिटमा दाबी गरिएको छ।
र, यो पनि: कैलालीका अरुण राज्यमन्त्रीविरुद्ध मुद्दाको फैसला अनिश्चित