धनगढी: कैलालीको धनगढीस्थित भन्सारका प्रमुखमाथि कुटपिट भएको प्रकरणमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार राति कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तराज तिमिल्सिनामाथि कुटपिट भएको थियो।
सोही आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक लक्ष्मणसिंह धामीसहितका चार जनालाई प्रहरीले पक्राउ गरिएको जानकारी दिएको छ।
पक्राउ पर्नेमा नगर प्रहरीका प्रमुख समेत रहेका नगर प्रहरी निरीक्षक धामी, उनका सवारी चालक हसनबहादुर मल्ल, नगर प्रहरी जवान जितेन्द्र सिंह धामी र नगर प्रहरी हवल्दार मणीदत्त भट्ट रहेका छन्।
उनीहरुलाई सोमबार बिहान धनगढी उपमहानगरपालिका क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार भन्सार प्रमुख तिमिल्सिनाले अभद्र व्यवहार शिर्षकमा दिएको किटानी जाहेरीका आधारमा चारै जनालाई पक्राउ गरिएको हो।
चारै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ। नगर प्रहरी निरीक्षक धामीसहितका नगर प्रहरीले शनिबार राति कैलाली भन्सार कार्यालयभित्र प्रवेश गरेर प्रमुख भन्सार अधिकृत धामीमाथि कुटपिट गरेका थिए। उनीहरुले कुटपिट गरेको सीसीटीभी फुटेज सार्वजनिक भइसकेको छ।
नगर प्रहरी निरीक्षक धामीलाई धनगढी उपमहानगरपालिकाले समेत २४ घण्टे स्पष्टिकरण सोधेर कारवाही प्रक्रिया अघि बढाइसकेको छ। यस्तै घटनापछि कुटिएका भन्सार प्रमुखलाई नेपाल प्रहरीका हवल्दारको कमाण्डमा ४ सदस्यीय सुरक्षा टोली खटाउने सहमति अनुसार काम सुचारु गर्ने समझदारी पनि भएको छ। हिजो भने भन्सारका काम ठप्प बनेका थिए।