काठमाडौं: नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी नवनियुक्त डीआईजी विनोद घिमिरेले पाउने भएका छन्।
प्रहरी महानिरीक्षक (आईजी) सचिवालयका डीआईजीले वहन गर्ने उक्त जिम्मेवारीमा रहेका डीआईजी दिनेशकुमार आचार्य गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा भएर रिक्त थियो। उनको रिक्ततामा आईजी सचिवालयकै एसएसपी रमेश थापाले प्रवक्ताको जिम्मेवारी पाएका थिए।
बढुवा भएका डीआईजीको शुक्रबार पदस्थापन हुँदा आईजी सचिवालयमा तोकिएका विनोद घिमिरेले प्रवक्ताको जिम्मेवारी पाउने आईजी सचिवालयस्रोतले जनायो। हाल प्रवक्ताको जिम्मेवारीमा रहेका एसएसपी थापा सचिवालयकै अन्य भूमिकामा रहने भएका छन्।
सरुवा हुँदै एसएसपी
यस्तै शुक्रबार रातिसम्म एसएसपीहरुको सरुवा निकाल्ने तयारी भइरहेको छ। त्यसका निम्ति छलफल गर्न आईजी दीपक थापा गृह मन्त्रालय पुगेका छन्। एसएसपी सरुवा गृह सचिवस्तरको निर्णयबाट हुन्छ, तर बहालवाला मन्त्रीसँगको परामर्शमा सरुवा निकाल्ने गरिन्छ। सोही क्रममा आईजी थापा मन्त्रालय गएका हुन्।
शुक्रबारदेखि लागु हुने गरी नेपाल प्रहरीका ११ एसएसपीले डीआईजीको जिम्मेवारी पाएपछि उनीहरुले एसएसपी दर्जामा सम्हालेका जिम्मेवारी रिक्त भएका छन्। ती स्थानमा खटाउनका लागि एसएसपी सरुवा निकाल्न लागिएको गृह मन्त्रालयस्रोतले जनाएको छ।
एसएसपीका रिक्त जिम्मेवारीमध्ये सबभन्दा आकर्षक मानिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ हो। त्यहाँका कार्यालय प्रमुख रहेका एसएसपी विनोद घिमिरे आईजी सचिवालयमा पदस्थापित भएका छन्।
उपत्यका ट्राफिकका निम्ति एसएसपीहरु नवराज अधिकारी, प्रभुप्रसाद ढकालसहितको प्रस्ताव आएको गृहस्रोतले जनाएको छ। अधिकारी उपत्यका प्रहरी कार्यालय र ढकाल प्रधान कार्यालयस्थित कार्य विभागमा कार्यरत छन्।
शुक्रबार नवनियुक्त डीआईजी पदस्थापनपछि एसएसपी कार्यालय प्रमुख हुने लागु औषध नियन्त्रण व्युरो, मानव बेचबिखन अनुसन्धान व्युरो, गौमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षा कार्यालय, भैरहवा, डीआईजी पदस्थापनपछि लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलसहितका युनिटका निम्ति सरुवा निकाल्न लागिएको हो। प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर, सुर्खेत (हाल नेपालगञ्ज), धरान र पर्साका एसएसपी पनि डीआईजीमा बढुवा भएका कारण त्यहाँ नयाँ एसएसपी पठाइँदैछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा, टंगालमा एसएसपी हुँदै टुवाईसी रहेका ओमबहादुर रानाले बढुवासँगैको पदस्थापनमा जिम्मेवारी पाइसकेका छन्। त्यहाँ टुवाईसी हुने गरी अर्का एसएसपीको सरुवा हुने भएको छ। सरुवा हुने एसएसपीमध्ये एकजनाले नयाँ दिल्लीस्थित नेपाली दूतावासको काउन्सिलरको जिम्मेवारी पाउँदैछन्। त्यहाँको जिम्मेवारीमा रहेका सञ्जिव शर्मा दासको पदस्थापन प्रधान कार्यालयस्थित अपराध अनुसन्धान निर्देशनालयमा भएको छ।
एसएसपी बढुवाको गृहकार्य, विवादित कमल थापा घरदैलोमा
यस्तै प्रहरीमा एसएसपी बढुवाको गृहकार्य पनि थालिएको छ। जनपद समूहतर्फ ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी)को लागि रिक्त पदमा ३३ जना अधिकृत बढुवाको प्रतिस्पर्धामा छन्।
जसमा राष्ट्रिय अनुसन्धान र विभिन्न मितिमा सेवा प्रवेश गरेका अधिकृतहरू छन्। बढुवाका लागि केही ‘विवादित’ पात्रहरू पनि प्रतिस्पर्धामा छन्।
जसमा राष्ट्रिय अनुसन्धान विभागबाट विमल बस्नेत, केदार खनाल र राम प्रकाश शाह गरी तीन जना छन्।
२०५६ मा सेवा प्रवेश गरेका तुल बहादुर कार्की, राजीव बहादुर बस्नेत र राकेश सिंह गरी तीन जना बढुवाको दौडमा छन्। उनीहरूबाहेक २०५८ साउन १८ मा इन्स्पेक्टरमा नाम निकालेर फरक मितिमा बढुवा हुँदै आएका अधिकृतहरू एसएसपी हुँदैछन्।
२०५८ साउन १८ मा सेवा प्रवेश गरेका प्रकाश रानाभाट, कमल थापा, दिपक पोखरेल, ज्ञानेन्द्र फुयाँल, दिपेन्द्र शाही, प्रविण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्र बहादुर शाही एसएसपीको प्रतिस्पर्धी हुन्।
उनीहरूसँगै भर्ना भएका तर, उनीहरूभन्दा पछि प्रहरी उपरीक्षकमा बढुवा भएका चक्रराज जोशी, अर्जुन तिमिल्सिना, रमेश पण्डित र जनक शाही, पदमबहादुर बिष्ट लगायतका अधिकृत पनि प्रतिस्पर्धामा छन्।
यस अगाडि २०८१ पुस २९ मा २५ जना एसएसपी बढुवा हुँदा अहिले प्रतिस्पर्धा गर्नेहरूसँगै सेवा प्रवेश गरेकामध्येबाट पनि बढुवा भएका थिए।
गत पुसमै पनि गृहमन्त्री रमेश लेखकले पदम बहादुर विष्ट, चक्रराज जोशी र श्याम सिंह चौधरीलाई बढुवा गर्ने प्रयास गरेका थिए, तर आफ्नो ब्याचमा पछिल्लो लटमा बढुवा भएका कारण उनीहरू छुटेका थिए।
अहिले पुनः त्यसबेला छुटेकाहरु सहित केही केही ‘विवादित’ पात्र पनि प्रतिस्पर्धामा छन्। २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका विमल बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो। उनको सो समयसीमा अझै पूरा भएको छैन। उनी २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन्।
धनुषाको प्रहरी प्रमुख हुँदा प्रकाश रानाभाटले लागुऔषध खैरोहेरोइनसहित पक्राउ परेका आरोपितको मुचुल्का परिवर्तन गराएको आरोप छ। त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना आयुक्तको दबाबमा तत्कालीन आईजीपी बसन्त कुँवरले उनलाई कारबाही गरेनन्। मुचुल्का परिवर्तन गरेको फाइल हाल महान्यायाधिवक्ताको कार्यालयमा विचाराधीन छ।
यस्तै प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा फौजदारी कसुरमा जाहेरी नै दर्ता भएको छ। बस्नेत जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी प्रमुख हुँदा भागेका थुनुवा पक्राउ गर्न गएका प्रहरीको कुटाइबाट थुनुवाको मृत्यु भएको थियो। थुनुवाको मृत्यु भएपछि पीडितको परिवारले जाहेरी लिएर आए। बस्नेतभन्दा पछि गएका डीएसपीले बस्नेतलाई समेत आरोपित किटान गरिएको जाहेरी दर्ता गरेका थिए। सो मुद्दाको टुङ्गो लागेको छैन।
अर्को घटनामा मृत्यु नभएका मानिसको हत्या भएको भनेर आरोपित पक्राउ गरे, तर केही महिनापछि मृत्यु भएका भनिएका व्यक्ति फर्केर आएको घटना प्रहरीमा चर्चित छ। सो घटनामा बस्नेतले ‘लापरबाही’ गरेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ।
बढुवामा अर्का विवादित पात्र कमल थापा पनि शक्तिकेन्द्रको घरदैलोमा छन्। थापा सुदूरपश्चिमको कञ्चनपुर बस्दा निकै विवादित बनेका थिए।
थापा तस्करसँगको घुमुवामार्फत सेटिङ, आर्थिक अनुशासन कायम नराखेको, मुद्दा शाखामा विवादित कर्मचारी राखेको लगायतका विषयमा विवादित बनेका थिए। त्यसपछि उनीविरुद्ध छानबिन पनि भएको थियो। तर कारबाही भएन।
यस्तै त्यस अगाडि २०७७ कार्तिकमा सुनसरी प्रहरी प्रमुख हुँदा एसपी थापामाथि आर्थिक लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमामा उजुरीसमेत परेको थियो।
सुनसरीमा उनले आफू तत्कालिन आईजीपी शैलेश थापाको विश्वासपात्र भएको भन्दै मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्जमार्फत रकम असुली गर्ने गरेको आरोप समेत लागेको थियो।
त्यस अगाडि डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन्। २०७७ पुसमा सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका थिए।
आर्थिक लेनदेन गरेको आरोप खेपेका एसपी थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गर्दै तानेको थियो।
सुनसरीमै भारतीय प्रहरीले ३० जेठ २०७८ मा तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।
छानविनमा तत्कालिन सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका तत्कालिन एसपी माधव पौडेलको समेत संलग्नता रहेको खुलेको थियो। तर, उनीहरु दुवैले उन्मुक्ति पाएका थिए।
त्यो समयमा एसपी थापाको रवैयाविरुद्ध नेपाली काँग्रेस सुनसरीले आपत्ती जनाउँदै सिडिओको ध्यानाकर्षण गराए पनि एमाले नेताको पनि साथले कारबाही भने नभएको बताइन्छ।
उनै एमाले निकट विवादास्पद एसपी थापा अहिले एमाले सरकारमा प्रभावशाली अवस्थामा रहेको बेला एसएसपी बढुवाका लागि राजनैतिक घरदैलो अभियान नै थालेको स्रोतले जनाएको छ। बढुवाका लागि झापाका एक नेतामार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हारगुहार गरेको पनि स्रोतको दाबी छ।
उनै थापा भैँसेपाटीको चर्चित हनी ट्रयापको काण्डमा प्रहरी निरीक्षक विनु शाहीसँग पनि मुछिएका थिए। हाल शाही निलम्बित छन् भने थापा पनि छानबिनमा छन्।