काठमाडौं – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट लिगमा सोमबार सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
सुनसरीको इटहरीस्थित जनता क्रिकेट पार्कमा गण्डकीले प्रस्तुत गरेको ६१ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा ओपनर तथा कप्तान विन्दु रावलले अविजित ४६ रन बनाइन् । विन्दुले ४३ बलमा आठ चौका प्रहार गरिन् । यसबाहेक सोभा रोकाया आठ रनमा अविजित रहँदा यसोदा विष्टले टिमको खातामा दुई रन थपिन् ।
गण्डकीकी रचना चौधरीले एक विकेट लिइन् ।
यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६० रनको योगफल खडा गरेको थियो । गण्डकीबाट सिमाना केसीले १३ रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गण्डकीलाई सस्तो योगफलमा रोक्न सुदूरपश्चिमकी मनिशा चौधरीले चार विकेट लिइन् । चार ओभर बलिङ गरेकी मनिशाले एक मेडन फ्याक्दै १४ रन खर्चिइन् । यसबाहेक, ईश्वरी विष्ट र स्नेहा महराले समान एक विकेट हात पारे ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको सुदूरपश्चिम समूह ‘ए’को दोस्रो स्थानमा छ । यता, दुवै खेलमा हार बेहोरेको गण्डकी तालिकाको पुछारमा छ