काठमाडौं – बाजुरामा मंगलबार दिउँसो गएको भुकम्पमा परेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका–२ को जुरेलीको स्थानीय जंगलमा घाँस काट्ने बेला गएको भुकम्पसँगै माथिबाट खसेको ढुंगाले लागेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुर्य थापाले भुकम्पका कारण खसेको ढुंगा लागेर जमुना रोकायाको मृत्यु भएको स्थानीयले जानकारी गराएको बताए । अहिले प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ हिंडेको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५ दशमलव ९ रेक्टर स्केलको भुकम्प गएको थियो ।
भुकम्पले बडिमालिका नगरपालिका र हिमाली गाउँपालिकामा गरेर अहिलेसम्म ६ वटा घर भत्काएको प्रारभ्मीक विवरण प्राप्त भएको छ भने विस्तृत विवरण संकलको काम जारी छ ।