अछामको गैरिटाँडमा मृत भेटिएका नेपाली कांग्रेसका युवा नेता रेशम तिमिल्सेनाको हत्याका मुख्य आरोपित विवेक शाहीलाई अछाम जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । गत वर्षको कात्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि मध्यपहाडी लोक मार्ग अन्तर्गत कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको थियो ।
अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना त्यस क्षेत्रको युवा अगुवाका साथै नेपाली कांग्रेसको पूर्व क्षेत्रीय कार्यसमिति सदस्य थिए ।
सामाजिक क्षेत्रमा सक्रिय रहेका तिमिल्सैना मृत भेटिएसँगै रेशमको हत्याको अनुसन्धानको माग गर्दै जिल्ला सदरमुकाम मंगलसैन, मध्यपहाडी लोक मार्ग, पूर्वी क्षेत्रका व्यापारिक केन्द्रहरूमा चक्काजाम र आन्दोलनसमेत गरिएको थियो ।