काठमाडौँ – भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । केही दिनदेखि नेपाली क्रिकेट टोलीलाई प्रशिक्षण दिइरहेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
तर क्यानले यसको औपचारिक घोषणा गरिसकेको छैन । राष्ट्रिय खेलकुद परिषद्बाट पत्र आइनसकेको जनाउँदै क्यानले घोषणा नगरेको हो । क्यानले आजै दिउँसो ३ बजे यसबारे औपचारिक घोषणा तयारी गरेको छ । त्यसका लागि क्यानले होटल हायात प्यालेसमा नयाँ मुख्य प्रशिक्षकसँग पत्रकार भेटघाट कार्यक्रम राखिसकेको छ ।
देसाई यसअघि पनि नेपालसँग जोडिएका क्रिकेटर हुन् । उनले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमको ब्याटिङ कन्सल्ट्यान्टका रुपमा काम गरिसकेका छन् । उनले सन् २०१५ को आईसीसी टी-ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिममा रहेर काम गरिसकेका थिए ।
क्यानले मुख्य प्रशिक्षकका लागि आवेदन दिएका २४ जनामध्ये अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता गरेको थियो । मुख्य प्रशिक्षक मनोज प्रभाकरले गत मंसिर अन्तिम साता राजीनामा दिएपछि नेपाली प्रशिक्षकविहीन छ । क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरेको थियो । तर उनी चार महिना पनि टिक्न नसकेर राजीनामा दिइ फर्किए ।