काठमाडौँ – प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते भएका छन् ।
शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उनी घाइते भएका हुन् । संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए ।
उनको टाउँकोमा चोट लागेको छ । सोही घटनाको विरोधमा त्यहाँका चिकित्सकहरूले प्रदर्शन गरिरहेका छन । ट्रमा सेन्टर अगाडिको सडकमा सो घटनाको विरोधमा चिकित्सकहरूले प्रदर्शन गर्ने क्रममा चिकित्सक र प्रहरीबीच भनाभन भएको थियो भने अतिव्यस्त सो सडक केहीबेर अवरुद्ध हुन पुगेको थियो ।
घटनापछि ट्रमा सेन्टरको गेटमा बसेर चिकित्सकहरूले प्रहरीको विरोधमा प्रदर्शन गरिरहेका छन । यता, घटनाबारे जानकारी लिन वीर अस्पताल व्यवस्थापन र प्रहरी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।