काठमाडौँ – सत्ता गठबन्धनले बनाएको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लिन थालेका छन् । सत्ता गठबन्धन दलहरुबीच पछिल्लो समय तुषहरु बढ्दै जाँदा उच्चस्तरीय संयन्त्रका संयोजक एवम् एमाले अध्यक्ष केपी ओलीले बोलाएको बैठकमा राष्ट्रपति चयनको विषयमा छलफल भयो । तर संयन्त्रमा राष्ट्रपति चयनको विषय प्रवेश भएपछि प्रचण्ड एक्लिन थालेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष समेत रहेका संयन्त्रका संयोजक केपी ओलीबीच भएका पटक–पटकका भेटवार्तापछि शुक्रबार संयन्त्रको बैठक बसेको थियो । बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेदेखि राष्ट्रपति चयनबारेमा छलफल भयो । तर, मुख्य विषयमा प्रवेश गर्नुअघि प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको विषय उठाएपछि ओलीले यस्ता विषय उठाउनै नहुने भन्दै प्रतिवाद गरेका थिए ।
ओलीले राष्ट्रिय सहमतिको विषय उठाएर गठबन्धन दलबीच भएको सहमति तोड्न खोजिएको भन्दै ठाडै अस्विकार गरेपछि प्रधानमन्त्री प्रचण्डले सहमति खोज्नु पर्नेमा जोड दिए । तर, संयन्त्रको बैठकमा सहभागी नेताहरु रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समेत एमालेले पठाएको उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने जिकिर गरेपछि संयन्त्रको बैठकमा प्रचण्ड एक्लिन पुगेका हुन् । तर, माओवादी केन्द्रको बैठकबाटै राष्ट्रपति पदमा राष्ट्रिय सहमति खोज्ने निर्णय गराएका प्रचण्डले यहि विषयलाई पेचिलो बनाउदै लगेर सत्ता गठबन्धन नै त फेर्दैनन भन्ने आशंका भने नेताहरुले गर्न थालेका छन् ।
यद्यपि राष्ट्रपतिमा कांग्रेसले समेत आफ्नो पार्टीको उम्मेदवार निर्वाचित हुने दाबी गर्दे आएको छ । कांग्रेसको दाबीका पछाडी माओवादीलाई उसले दिएको समर्थनलाई समेत हेर्न थालिएको छ । तर, यसले मूर्त रुप भने लिइ सकेको छैन ।