काठमाडौं: नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) भरतबहादुर बोहरा अवकाशमा गएका छन्। प्रदेश समन्वय विभागका प्रमुखसमेत रहेका बोहरा आइतबारदेखि अनिवार्य अवकाशमा गएका हुन्।
नेपाल प्रहरीमा विद्यमान एआईजीको ५६ वर्षे उमेर हदका कारण बोहरा अवकाशप्राप्त भएका हुन्। २०५१ चैत ५ गते प्रहरी निरीक्षकबाट उनी प्रहरी सेवामा प्रवेश गरेका थिए।
उमेर हदका कारण ३० वर्षे सेवा अवधि पनि पूरा नहुँदै अवकाश हुँदा एआईजीका रूपमा उनले २ साता पनि काम गर्न पाएनन्। उनले एकसाता अघि मात्रै दर्ज्यानी चिह्न लगाएका थिए।
अवकाशमा जाने भएकै कारण सरकारले उनलाई छोटो समयका लागि एआईजीमा बढुवा गरेको थियो। बोहरा आईजीपी वसन्तबहादुर कुँवरकै ब्याची हुन्।
यस्तै पर्सि मंगलबारदेखि अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पनि अवकाशप्राप्त हुँदैछिन्। उनी काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्।