काठमाडौं: नेकपा एमालेबाट निष्कासनमा परेका पूर्व उपाध्यक्ष डा.भीमबहादुर रावलले नयाँ आफ्नै पार्टी खोल्ने तयारी गरेका छन्। उनले त्यसको आन्तरिक तयारी गरिरहेकोमा पर्सि पुस १७ मा पत्रकार सम्मेलन गर्दै घोषणा गरिने जनाइएको छ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेको बुझिएको छ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो।
त्यसपछि उनले विभिन्न पार्टीका विद्रोही नेताहरुसँग भेट गरिरहेको बताइन्छ। रावलले विशेषगरी सुदूरपश्चिमका नेतालाई भेट गरिरहेका छन्। जसक्रममा उनले सोमबार नेपाली काँग्रेस वीपीका उपसभापति कर्ण मल्ल र एमाले छोडेका डडेलधुराका नेता सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा जोशीलाई भेटेका छन्।
मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति तथा ०७४ सालको प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसबाट डडेल्धुराबाट विजयी पूर्वप्रदेशसभा सदस्य हुन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा उनले शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गरेका थिए।
जोशी नेकपा एमाले डडेल्धुराका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका पूर्वकेन्द्रीय सदस्य हुन्। जोशी ०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा डडेल्धुराबाटै स्वतन्त्र चुनाव लडेर विजयी भएका थिए।
मल्लले आज रावल निवासमै तीन जनाको भेटघाट भएको मल्लले जानकारी दिए। ‘अहिले भीम रावल राजनीतिक अन्यायमा पर्नुभएको छ,’ उनले भने, ‘उहाँ राष्ट्रिय नेता हो। उहाँलाई सङ्गै मिलेर राजनैनिक रुपमा जाने प्रस्ताव र सकारात्मक छलफल भएको छ। भेटघाट फलदायी हुने अपेक्षा छ।’
मल्लका अनुसार नयाँ यात्राबारे केही दिनमै जानकारी आउने छ।
एमालेबाट निष्कासित रावल, काँग्रेसबाट निष्कासित मल्ल र एमाले तथा नेकपा एमाले तथा एकीकृत समाजवादी छोडेका जोशीको भेटघाट भएपछि सुदूरपश्चिममा नयाँ क्षेत्रीय शक्तिका विषयमा चर्चा हुन थालेको छ।
जोशी ०७८ कार्तिकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमाले डडेल्धुराको जिल्ला कमिटीका बहुसंख्यकसहित नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। ०७९ को निर्वाचन लड्दा भने उनी स्वतन्त्र भएर लडेका थिए।
यस्तै नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति मल्ल ०७९ वैशाखमा कांग्रेसबाट निष्काशित भएका थिए। मल्लले कांग्रेसको विधानविपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको थियो।
रावललाई भने नेकपा एमालेले गत १० पुसमा पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो।