बैतडी – तरकारीको पकेट क्षेत्रका रूपमा परिचित बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा शीत भण्डार गृह निर्माण सुरु भएको छ। कुल रु तीन करोड ९७ लाख लागतमा यहाँको धारीगाउँको बेताडासैनामा शीतभण्डार निर्माण सुरु भएको हो।
पाटन नयाँ सहरी विकास आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर रोहितराज भण्डारीका अनुसार कैलपाल कन्सट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ। जिल्लाको पाटन नगरपालिकाका वडा नं ८, ९ र १० लाई तरकारीको पकेट क्षेत्रको रूपमा समेत लिइएको छ।
खोड्पेमा बन्न लागेको शीतभण्डारले यो क्षेत्रका किसानलाई फाइदा पुग्ने पाटन नगरपालिका-८ का वडा अध्यक्ष हरिश विष्टले बताए। उनले भने, ‘तरकारीको पकेट क्षेत्रमा शीतभण्डार बनेपछि यो क्षेत्रका किसानलाई निकै फाइदा हुन्छ, शीतभण्डारमा राख्नका लागि तरकारीलगायत अन्य उत्पादन अन्यत्र लैजाने झण्झटको अन्त्य हुन्छ। उत्पादित तरकारी लामो समयसम्म भण्डार गर्न सहज हुन्छ।’
खोडपे आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो। यहाँ उत्पादित आलु भण्डारणको व्यवस्था नहुँदा समस्या भइरहेकाले शीतभण्डार निर्माणपछि यो समस्या समाधान हुने किसानको भनाइ छ। शीतभण्डारको अभावमा अहिले यहाँका किसानलाई आलु भण्डारणका लागि डडेलधुरा लैजानुपर्ने अवस्था छ।