कञ्चनपुर – राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडालको रहस्यमयी मृत्यु घटनाको अनुसन्धानका लागि बैतडी प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ।
बुडालसंगै पिकनिक मनाउन गएका उनका इष्टमित्र र साथीसहित १२ जना विरुद्ध मृतककी श्रीमती अनिशा कुलुमले किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
कर्तव्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए।
किटानी जाहेरी पछि अनुसन्धानका लागि बुडालसंगै पिकनिक मनाउन गएका १२ जनालाई नियन्त्रणमा लिइएको उनले बताए।
शनिबार इष्टमित्र र साथीहरुसंग पिकनिक मनाउन गएका दशरथचन्द नगरपालिका–१० का बुडाल राति दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा मृत भेटिएका थिए।
उनी राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत थिए।
Facebook Comments Box