काठमाडौं – राष्ट्रपतिमा आफ्नो दलका नेता रामचन्द्र पौडेललाई जिताउन नेपाली कांग्रेसले सातवटै प्रदेशमा पार्टीका केन्द्रीय नेता परिचालित गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी गराउन कांग्रेसले केन्द्रबाटै पदाधिकारी तहका नेता परिचालित गरेको हो ।
गठबन्धनबाट नेपाली कांग्रेसका नेता पौडेल राष्ट्रपतिको साझा उमेदवार बनेका छन् । त्यसैले कांग्रेसको नेतृत्वमा आठदलीय गठबन्धनले प्रदेशस्तरीय भेला गर्दै छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको सभापति, महामन्त्री, प्रमुख सचेतक र केही प्रभावशाली नेताहरूको बैठकले गठबन्धनको कार्यक्रमलाई नेतृत्व गर्न पदाधिकारीलाई जिम्मेवारी दिइएको थियो ।
कोसी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा फरमुल्लाहा मन्सुरले जिम्मेवारी पाएका छन् । कोसी प्रदेशमा महामन्त्री शर्मासहित सहमहामन्त्री भीष्मराज आङदेम्बे पनि सहभागी हुनेछन् । मधेसमा सहमहामन्त्री महेन्द्र यादवलगायत पार्टीका नेताहरूको सहभागिता रहनेछ ।
वाग्मती प्रदेशमा महामन्त्री गगन थापालाई कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ । गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ सहभागी हुनेछन् । त्यहाँ सहमहामन्त्री जीवन परियार पनि रहनेछन् । लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठोर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेले जिम्मेवारी पाएका छन् ।
भेलामा प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य समेतको सहभागिता रहनेछ । यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदै छ । पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का सांसद सुवास नेम्वाङ छन् । निर्वाचनका संघीय संसदमा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता छन् ।