धनगढी: बैङ्कहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी, व्यवसायी तथा ब्यापारीहरू केही दिनदेखि आन्दोलित छन्। उनीहरु बैँक तथा वित्तिय संघसंस्थाले चर्को व्याज असुलिरहेको भन्दै आन्दोलित बनेका हुन्।
आन्दोलनका क्रममा उनीहरुले बिहीबार धनगढीसहित सुदूरपश्चिम प्रदेशमा ‘नो डिपोजिट’ अभियान चलाउदै विरोध जनाएका छन्। उद्योग वाणिज्य महासंघको अगुवाईमा भइरहेको आन्दोलनका कार्यक्रम अन्तरगत बैँक तथा वित्तिय संस्थामा बिहीबार कुनै पनि व्यक्तिलाई रकम जम्मा गर्न नदिन ‘नो डिपोजिट’ को कार्यक्रम गरेका हुन्।
व्यवसायीको आन्दोलनका कारण बिहीबार सर्वसाधारणले समेत बैँक खातामा रकम जम्मा गर्न पाएका थिएनन्। धनगढीमा बिहान विरोधसहित प्रदर्शन गरेका व्यवसायीहरुले दैनिक ९ देखि ११ बजेसम्म व्यापार, व्यवसाय बन्द गर्ने गरेका छन्। उनीहरुले बैँक तथा वित्तिय संस्थाले अस्वभाविक रुपमा बृद्धि गरेको व्याजदर घटाएर एक अंकमा कायम गर्नुपर्ने माग राखेका छन्। कैलालीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा यो आन्दोलन जारी छ।
उनीहरुले सरकारले ब्याजदर नघटाउँदा सम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो। सोहीअनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको हो। हिजो बुधबार पनि व्यवसायीहरुले धनगढीको नेपाल राष्ट्र बैंक अगाडि विरोध प्रदर्शन गरेका थिए। यसअघि मासिक ७ प्रतिशत तिर्दै आएको भए पनि वित्तीय संस्थाहरूले हाल एकैचोटी १७ प्रतिशसम्म ब्याजदर बढाएपछि व्यवसायी आन्दोलित हुँदै आएका छन्।