काठमाडौं – सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो । गत मंसिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।
हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए । ‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने ।
आयोगले लगाएको निर्वाचन आचारसंहिता ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनसम्म कायम रहन्छ । तर, सरकारले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनअघि नै एआईजी बढुवा गर्नेगरी आयोगसँग अनुमति मागेको हो । उपराष्ट्रपति निर्वाचन सम्पन्न नहुँदासम्म त्यसअघि बढुवा गर्न आयोगको स्वीकृति आवश्यक पर्छ । आयोगको आचारसंहिता हेर्ने जिम्मेवारी पाएका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गृह मन्त्रालयबाट बढुवाको अनुमतिका लागि आयोगमा आएको पत्र आयोगको सचिवालयमा पेस भएपछि मात्रै निर्णय हुने जानकारी दिए ।
‘पत्र आएको छ, सचिवालयमा पेस भएको छैन, सचिवालयमा पेस भएपछि आयोगले राष्ट्रपति निर्वाचनलाई असर गर्ने नगर्ने हेरेर निर्णय गर्छ,’ आयुक्त भण्डारीले भने । नेपाल प्रहरीमा हालका आईजीपी धिरजप्रताप सिंह र अन्य बाँकी तीन जना एआईजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी पनि आगामी ११ चैतबाट ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाँदै छन् । त्यसअघि नै एआईजी बढुवा नभए प्रहरीमा डीआईजीबाटै नेतृत्व छान्नुपर्ने अवस्था आउनेछ ।
को को छन् एआईजीको दौडमा ?
एआईजी बन्ने दौडमा पहिलो नम्बरमा डीआईजी वसन्त कुँवर छन् । उनी डीआईजी हुँदा पहिलो वरीयतामा बढुवा भएका थिए । कुँवरपछि दोस्रो नम्बरमा टेकप्रसाद राई छन् । यस्तै, तेस्रो नम्बरमा रहेका डीआईजी अशोक सिंह अवकाशमा गइसकेका कारण दीपक थापाले सो स्थान लिएका छन् भने डीआईजी श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि पाँच एआईजी बढुवा हुँदा त्यसैभित्र पर्ने सम्भावना छ ।
ज्ञवाली डीआईजी बढुवा हुँदा पाँचांै वरीयतामा परेका थिए भने बज्राचार्य छैठौं वरीयतामा बढुवा भएकी थिइन् । यसैगरी, ११ चैतपछि थप चार एआईजी पद रिक्त हुनेछ । त्यसबेलाका लागि बाँकी डीआईजीमध्येबाट एआईजी बढुवा हुनेछन् । ११ चैतपछिको बढुवामा भने डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा प्रतिस्पर्धामा रहनेछन् ।