काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङमा धेरै पहिलेदेखि युनिभर्सिटी (विश्वविद्यालय ) नभएर कलेज खोल्ने चर्चा पहिलेदेखि नै भएपनि सरकारले स्वीकृति नदिएको प्रस्ट पारेका छन् । मंगलबार काठमाडौँमा सोलुखोला दुधकोशी जलविद्युत परियोजना शुभारम्भ गर्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङको चर्चा परिचर्चा हुनुमा त्यहाँ भएको खनिज पदार्थ कारण रहेको बताए ।
‘अहिले मुस्ताङको विषयलाई लिएर बडो चर्चापरिर्चा हुने गरेको छ । मुस्ताङमा युनिभर्सिटी खोल्ने रे ! मुस्ताङमा अलि धेरै मान्छेको ध्यान छ । मुस्ताङको बारेमा धेरै पहिलेदेखिनै चर्चा पनि हुने गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मुस्ताङमा अमूल्य खनिज पदार्थहरू छन् र त्यो खनिज पदार्थ उत्खनन र प्रोसेशनमात्रै ठिक ढंगले गर्न सक्यौ भने नेपालहरूको आर्थिक स्थिति संसारकै उच्च बनाउन सकिन्छ रे भन्ने चर्चा पनि भएका छन् ।’
प्रधानमन्त्री प्रचण्डले नेपालीहरूले भन्दा विदेशीहरूले मुस्ताङ र त्यहाँ भएको प्राकृतिक श्रोत र खनिज पदार्थबारे बढी जानकारी राख्छन् रे भन्ने सुनिँदै आएको बताए ।
‘हिजोआज एउटा चर्चा भएको पनि तपाई हामीले सुनेका छौँ मुस्ताङकै विषयमा । मुस्ताङमा बुद्धिष्ट युनिभर्सिटी खोल्ने कुरा भन्ने पनि आयो । पक्कै पनि त्यहाँ स्थानीय तहबाट युनिभर्सिटी भन्दा पनि कलेज खोल्ने चर्चा धेरै पहिलेदेखि भएको रहेछ । तर नेपाल सरकारले स्वीकृति दिएको स्थिति होइन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर जे भएपनि मुस्ताङको यति धेरै चर्चा किन भयो ?’ उनले यसबारे आफूले कसैलाई आरोप र प्रत्यारोप गर्न नखोजेको भन्दै मुस्ताङको चर्चा हुनेवित्तिकै सबै नेपालीहरु संवेदनशील हुने गरेको बताए । ‘हाम्रो प्रकृतिको गर्भभित्र धेरै यस्ता खनिजहरू छन् जसलाई हामीले ठीक ढंगले अनुसन्धान गर्यौ भने त्यसले नेपालमा ‘रिभुल्सनरी चेन्ज’ ल्याउन सक्छौँ भन्ने हो, त्यो सम्भावना छ,’ उनले भने ।
यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले मुस्ताङमा युनिभर्सिटी खोल्न दिएर विदेशीलाई खुसी पार्न लागेको आशय व्यक्त गरेका थिए ।