काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ ।
यसरी सिफारिस हुनेमा २०५१ चैत ५ र २०५२ भदौमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण वज्राचार्य छन् । उनीहरू एकसाथ ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए ।
पहिलो नम्बरमा वसन्त कुँवर छन् । यसअघि डीआईजीमा पनि उनी नै पहिलो नम्बरमा थिए ।
दोस्रो नम्बरमा टेकप्रसाद राई, तेस्रोमा दीपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य रहेका छन् । यसअघि गत असारमा निकालिएको बढुवा सिफारिसमा पनि दोस्रोमा राई थिए । चौथोमा थापा, पाँचौमा ज्ञवाली र छैटौंमा बज्राचार्य थिए ।
तेस्रो नम्बरमा रहेका अशोक सिंहले राजीनामा दिएपछि पछाडि रहेका एक-एक स्थान उक्लिएका हुन् ।
उनीहरूलाई गृह सचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा सिफारिस भएका पाँचमध्येबाटै ११ चैतपछि नेपाल प्रहरीको आईजीपी बन्नेछन् ।