भारत – भारतको उत्तर प्रदेशस्थित देवरिया जिल्लामा हालै भएको एउटा विवाह समारोह रणभूमिमा परिणत भएको छ । विवाहमा दुलहा र दुलहीसँग कसलाई पहिलो फोटो खिच्न दिने भन्ने विवाद चर्किएपछि रणसंग्राम भएको बताइन्छ ।
वरमाला लगाइदिएपछि मादक पदार्थ सेवन गरेका जन्तीले पहिलो तस्बिर खिच्न माग गरेपछि कुटपिट शुरु भएको हो । झगडा छुट्याउन पुगेका दुलाहाका काका सख्त घाइते हुनेगरी कुटिए । बेहुलाकी बहिनी र धेरै पाहुना घाइते भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारार्थ नजिकैको अस्पताल लगिएको थियो । ‘हिजो राति साढे ९ बजे बिहेमा फोटो खिच्ने विषयमा झगडा भएको जानकारी आयो । लगत्तै प्रहरी टोली घटनास्थलमा पुग्दा घाइतेहरु अस्पतालतर्फ गइसकेका थिए,’ वरिष्ठ प्रहरी नायव निरीक्षक बलराम सिंहले भने, ‘पछि दुलाहा रिसाए र विवाह गर्न अस्वीकार गरे ।’ तर, धेरै सम्झाएपछि बेहुला विवाहका लागि राजी भएको बताउँदै उनले भने, ‘प्रहरीको उपस्थितिमा विधिपूर्वक विवाह सम्पन्न गराइयो ।’